अकबर र बीरबलको पहेली
यस्तै प्रकारले छ घण्टामा एउटा लिस्ट तयार भयो । विचार गरेर हेर्दा आँखा भएका मानिसको भन्दा आँखा नहुने अन्धाका नाम धेरै हुन गयो । बीरबलले सरासरी दरबारमा गएर त्यो नामको सूची बादशाहलाई चढाउँदा भए । बादशाहले हेरी अन्धाका नामावलीमा पहिलोचाहीं नाउँ आफ्नै देखेर बीरबललाई सोधे- कुन कारणले मेरा नाम अन्धामा लेखियो ?
यस्तो सुनेर बीरबलले विन्ती गरे हजुर ! मैले बजारमा बसेर जुत्ता सिउन लागेको देख्तादेख्तै पनि हजुरले अन्धोले झैं बीरबल, के गर्न लागिरहेछौ ? भनी सोधिबक्सियो ! त्यसकारण लाचारीसाथ हजुरको नाम मैले अन्धाहरूको लिस्टमा लेख्नुपर्यो । अनि जसले किन आज जुत्ता सिइरहेछौ ? भनेर मसित सोधे, उनको नाम मैले आँखा भएका मानिसको लिस्टमा लेखाएँ, त्यस्तै हिसाबले इन्साफसाथ मैले यो सूची तयार गरेको हुँ, यस्तो सुनेर अकबर बादशाह धेरै प्रसन्न भए ।
अकबरको तस्वीर पाइखानाको ढोकामा
अर्का राज्यको राजाले बीरबलको प्रसिद्धी सुनेर उनलाई आफ्नो दरवारमा बोलाई उनको वुद्धि र चतुरताको परीक्षा लिने इच्छा भयो । बीरबल जब राजाका दरवारमा पुगे त उनको धेरै नै स्वागत, सत्कार भयो । उहाँ आरामका सबै सामान मौजुद थिए, अर्काे दिन जब उनी दिसा गर्न गए त चर्पीको ढोकाको पल्लामा महाराजाधिराज सम्राट अकबरको तस्वीर देखे । उनले सम्झे, यो राजाले बादशाह अकबरको र मेरो मजाक गरेका हुन् ।
त्यहाँबाट फरक्क र्फकेर महाराजनेर पुगेर बडो हाउभाउ लाएर भने महाराज सरकारलाई कब्जियत त भएको छैन, मलाई यस्तो लाग्छ कि हजुर यस रोगले पीडित होइबक्सिन्छ र यसको उपचार पनि राम्रोसित सोचेर गरिबक्सेको रहेछ । त्यसै कारणले शाहंशाह अकबरको चित्र पाइखानाको ढोकामा टाँसिबक्सिएको रहेछ । जसले टेक्ने बित्तिकै डरले दिसा-पिसाव खल्यातखुलुतै भैजाँदो हो !
कहाँ महाराजाले बीरबलसित हँसी ठट्टा गर्न सोचेका थिए, तर यहाँ आफ्नो जुत्ता आफ्नै टाउकोमा आएजस्तो भयो । बीरबलको त्यस प्रश्नको मार्मिक उत्तर महाराजले दिन सकेनन् । बीरबलको सामुन्ने शर्मिन्दा भए ।
बीरबल जब दिल्ल आए तब बादशाहको कानमा पनि यो समाचार पुग्यो त बीरबलको त्यो उत्तर सुनेर अत्यन्त खुशी भए । बादशाहले बीरबललाई धेरै-धेरै सम्पत्ति इनाममा दिए किनकि उनले अर्काे राजाको सामुन्ने आफ्नो राजाको बेइज्जती हुन दिएनन् बरू उसैलाई तल खसालिदिए । यस्तो थियो बीरबलको बुद्धि ।
तपाईंले पनि मेरो आज्ञाको पालन गर्नर्ुपर्छ
सभा भवनमा एकदिन नौरत्न उपस्थित भएका थिए, त्यसैबेला अकबरका अबुल फजल भन्ने मुसलमान वजीरले बीरबलको उन्नति सहन नसकी तिनलाई तल खर्साई’ बादशाही स्याबासी आफैले पाउने इच्छा राखी अकबरका अगाडि बीरबललाई भन्दा भए कि बीरबल ! तिमीलाई बादशाहबाट धेरै खातिर गरी सुँगुर र कुखुराको ठिठ्ठा•ी बक्सिने भएको छ । बीरबलले तुरून्त जवाब दिए- बडो जाती भयो, त्यसो भए तपाईले पनि मेरो आज्ञा मान्नुपर्ला । बीरबलको जवाब सुनेर बादशाह प्रसन्न भई हाँस्न लागे र अबुल फजल धेरै शर्मिन्दा भए ।
बादशाहको प्रश्न, बीरबलको जवाफ
दरवारमा बादशाह त्यसै बसिरहेका थिए । किनभने त्यसदिन र्सार्वजनिक विदा थियो । त्यसै बसेको बेलामा उनलाई आफ्ना दरबारीयाहरूको दिमागको परीक्षा लिने इच्छा भयो, त्यसै विचारले उनले निम्न तीनओटा प्रश्न सोधे-
१) छोरो कसको बेस -
२) दात कसको बेस -
३) गुण कुनचाहिं बेस -
सबै दरबारियाहरू यो प्रश्नको जवाफ दिनलाई कानेखुशी गर्न लागे, आपसमा विचार गरेपछि बादशाहले गरेको प्रश्नको उत्तर दिन सुरू गरे ।
१) छोरो त राजाको बेस हुन्छ ।
२) दात हात्तीको बेस हुन्छ ।
३) गुणमा विद्या बेस हुन्छ ।
उत्तर त्यति बेठिक थिएन, ठीकै थियो । तापनि बादशाह सन्तुष्ट भएनन् । बीरबल त्यसबेला त्यहाँ उपस्थित थिएनन् त्यसैबेला बादशाहलाई बीरबलको बुद्धिको पनि परीक्षा लिने विचार भयो र उनले बीरबललाई बोलाउन अर्दली पठाए, त्यतिखेर बीरबल आफ्नी प्रियतमासित हँसी, मजाक गरिरहेका थिएता पनि बोलाएकोहुनाले मन नपरी-नपरी पनि अर्दलीकासाथ राजमहलमा आए । बादशाहले आफ्नो प्रश्न दोहोर्याए । एकछिनपछि प्रश्नको उत्तर दिनका लागि बीरबल उठेर उत्तर दिन थाले- हे हजुर ! सबैभन्दा बेस छोरो गाईको हुन्छ किनभने खेत जोत्ने कामका यसको काम मसहुर छ । गाईको छोरोद्वारा नै गोधनको वृद्धि । भन्नुको मतलब कृषिकर्म गर्नेहरूका लागि गोरू बडो लाभदायक हुन्छ । यो सब कारणले गर्दा छोरो गाईको नै बेस हुन्छ ।
दोस्रो प्रश्नको जवाफमा बीरबलले जवाफ दिए कि धेरै मानिसको विचारमा हात्तीको दाँत बेस हन्छ, यो कुरो बेठीक होइन, तर त्योभन्दा राम्रो र बेस हलोको हुन्छ । जसले प्राणीमात्रको जीविका हुन्छ, जुन दाँतद्वारा जमीन जोत्नाले खेती हुन्छ । त्यसकारण हात्तीको दाँतभन्दा हलोको दाँत बेस हुन्छ ।
तेस्रो प्रश्नको जवाफमा आँटरूपी गुण नै सबैभन्दा ठूलो र बेस गुण हो । बलियो मान्छेमा पनि यदि आँट छैन भने त्यो बेकार हुन्छ । त्यस्तै प्रकारले यसको उदाहरण- स्वरूप विद्वानहरूलाई नै ल्यूँ । विद्वान वेद, वेदांग, शास्त्रको ज्ञाता हो, यदि उसमा शास्त्रको समीक्षा गर्ने आँट छैन भने त्यो पनि बेकार हुन्छ, त्यसो हुनाले आँटगुण सबैभन्दा ठूलो गुण हो ।
बीरबलका युक्ति-संगत जवाफ सुनेर बादशाह अकबर र सबै भारदारहरू अत्यन्त खुशी भए ।
