हिरासतभित्र नेताहरु के गर्दै होलान् ?
सशस्त्र प्रहरी बेस क्याम्प दुवाकोट
सरकारको विरोध गरेको आरोपमा हिरासतमा राखिएका नेता तथा कार्यकर्ताहरु के गरिरहेका होलान् ? उनीहरुको दिनचर्या कस्तो होला ? अहिले यो सबैको चासोको विषय हो ।
प्राप्त समाचारअनुसार सशस्त्र प्रहरी बेस क्याम्प दुवाकोटमा रहेका राजबन्दीले बन्दी गृहभित्रै राज्यको भावी संरचना र लोकतन्त्रको विषयमा बहस गरिरहेका छन् । उनीहरुले दैनिक अलग अलग शिर्षकमा एक घण्टा छलफल गर्ने गरेको वताएका छन् प्रत्येक दिन तीन जना बक्ता र दुइ जना टिप्पणीकार तयारीका साथ छलफलमा बस्ने गरेको बन्दी गृहमा रहेका नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले बताएका छन् । उनीहरुले संविधान सभाको आवश्यकता किन - भावी लोकतान्त्रिक ब्यवस्था कस्तो हुनुपर्छ ? दल माओवादी बीचको १२ बुँदे समझदारी कसरी सफल पार्ने ? लगायतका शिर्षकमा छलफल भइसकेको अर्का बन्दी नेपाल विद्यार्थी सघका पूर्वअध्यक्ष गुरुराज घिमिरे बताए । उक्त बन्दी गृहमा शनिबार भावी राज्यको पूर्नसंरचनाका विषयमा छलफल भएको छ । छलफलमा नेविसंघका पूर्व अध्यक्ष घिमिरे, नेपाली कांग्रेसका दिपक गिरी, विद्यार्थी नेता इन्दु शर्माले आ-आफ्नो धारणा राख्नु भएको थियो । छलफलमा बोल्दै घिमिरेले राज्यको भावी संरचना तयार गर्दा समावेशीकरण र विकेन्द्रीकरणलाई लोकतन्त्रको प्रमुख आधारका रुपमा लिनुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी बेस क्याम्पमा ६० जना राजबन्दी रहेका छन् । बन्दीगृहमा सफा खानेपानीको अभावमा सबै बन्दी अस्वस्थ रहेको घिमिरेले जानकारी दिए । उहाँका अनुसार खानेपानीको तत्काल ब्यवस्था नगरेमा जेलभित्रै आन्दोलन गर्ने तयारी भइरहेको छ ।
