एक्काइसौं शताब्दीको चुनाव
नगर चुनाव हालै सम्पन्न भयो । सबै ठाउ“को नजिता पनि आइसक्यो । नतिजा आएलगत्तै नवनिर्वाचित मेयर, उपमेयर सा’बहरु भूमिगत हुने क्रम पनि शुरु भयो । माओवादीका अध्यक्ष प्रचण्ड खुल्ला भएकै बेला नवनिर्वाचित पदाधिकारीहरु भूमिगत भए ।
चुनाव सम्पन्न भयो, तर चुनावसम्बन्धी विवाद भने अझै सम्पन्न भएको छैन । चुनावमा भएको मतदान अहिले विवादमा परेको छ । यो चुनावमा जम्मा एक्काइस प्रतिशत मत खसेको रहेछ । एक्काइस प्रतिशतमात्र मत खसेकोले यसको वैधानिकता छैन भन्ने प्रश्न उठेको छ । तर, यथार्थ के हो भने अहिले एक्काइसौं शताब्दीको युग हो । हाम्रो देशमा एक्काइसौं शताब्दीको शासन चलिरहेको छ । यो चुनाव पनि एक्काइसौं शताब्दीको चुनाव हो । एक्काइसौं शताब्दीको चुनावमा एक्काइस प्रतिशत नै मत आएको छ । के यो कम हो - वास्तवमा यसपटक देशमा जुनखालको चुनाव भयो त्यो एक्काइसौं शताब्दीको चुनाव हो । एक्काइसौं शताब्दीको राजतन्त्र कस्तो हुन्छ भन्ने कुरा त हामीले माघ १९ मा देखिहाल्यौं । अब एक्काइसौं शताब्दीको चुनाव कस्तो हुन्छ त्योचाहि“ माघ २६ मा देखियो । एक्काइसौं शताब्दीको मतगणना कस्तो हुन्छ, त्यो भूमिसुधार सहायकमन्त्री नारायणसिंह पुनले देखिहाल्नुभयो होला । एक्काइसौं शताब्दीको उम्मेदवारी कस्तो हुन्छ, त्यो चार मतले जित्ने भरतपुरका वडाध्यक्षले देख्नुभयो होला । अब एक्काइसांै शताब्दीको मेयर र उपमेयरले कसरी काम गर्छन्, त्योचाहि“ उनीहरुलाई माओवादीको घण्टी गइसकेपछि देख्न पाइन्छ होला ।
