वृहत लोकतान्त्रिक मोर्चा प्रस्ताव पारित
जारी लोकतान्त्रिक आनदोलन सफल बनाउन बृहद राजनीतिक मोर्चा निर्माण गर्ने प्रस्ताव पारित गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटीको बैठक बिहिबार सम्पन्न भएको छ ।
बुधबारदेखि पार्टीको केन्द्रीय कार्यालय बल्खुमा सुरु भएको दुइ दिने बैठकको अन्तिम दिन पार्टीका तर्फाट प्रस्तुत राजनीतिक प्रस्ताव एकमतले पारित भएको पार्टीका कायवाहक महासचिव अमृत कुमार बोहोराले बताउनुभयो । पार्टी प्रस्तावमा शान्तिपूर्ण संयुक्त जनआन्दोलनमा सरिक सात दलका साथै आन्दोलनमा सबै अगाडि बढिरहेको विभिन्न पेशागत संघसंगठन समेतको सहभागिता हुने गरी संयुक्त मोर्चा निर्माण गरिने कुरा उल्लेख छ ।
पार्टीका अधिकांश केन्द्रीय सदस्य उपस्थित सो बैठकमा पार्टीद्वारा विगतमा संचालित कायक्रम दलहरुको जारी आन्दोलन, सात दलको एकता र माओवादीसंगको १२ बुँदे समझदारीका सम्बन्धमा छलफल गरिएको थियो ।
सरकारले बैठक विफल पार्न गरेको अनेकौ प्रयासलाइ चेतावनी दिंदै सम्पन्न सो बैठकले सिंगो पार्टी र लोकतान्त्रिक आन्दोलनलाइ टेवा पुगेको कायवाहक महासचिव बोहराले बैठकपछि सम्बाददाताहरुलाइ बताउनुभयो । अत्यन्त प्रतिकूल परिस्थितिबीच सम्पन्न सो बैठकले सात दलको एकतालाइ थप सुदृढ पार्न ढोका खोलेको बताउनुभयो ।
यसैबीच सो बैठकले साधा पोसाकका सुरक्षाकर्मीले निगरानी गर्ने, राति तोडफोडको प्रयास गर्ने गरेर नेता कायकर्ताको मानसिकतामा खलल पुगेको ठहर गर्दै घोर निन्दा र भर्त्सना गरेको छ । आगामी दिनमा त्यस्ता गलत कृयाकलाप नमच्चाउनु बैठकले चेतावनी समेत दिएको छ । अन्यथा त्यसउपर कदम चालिने एमालेले बताएको छ ।
बैठकपछि पार्टी नेता सुभाषचन्द्र नेम्वाङले दलहरुसंग शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनवाहेक अर्को विकल्प नरहेको बताउनुभयो । राजासंग संवाद र सम्झौता हैन पार्टीहरुसंग शान्तिपूर्ण जनआन्दोलन वाहेक अर्को विकल्प छैन’-उहाँले भन्नुभयो ।
बैठकले सातदलबीचको एकतालाइ अझ सुदृढ गर्ने निर्णय गरेको छ । बैठकद्वारा पारित प्रतिवेदनमा माओवादीसंगको १२ बुँदे समझदारीलाइ ठोसरुपमा निष्कर्षमा पुर्याउनुपर्ने उल्लेख गरिएको छ । बैठकले माओवादीलाइ समझदारी इमान्दारीपूर्वक पालना गर्न आग्रह समेत गरेको छ ।
पार्टीलाइ लोकतान्त्रिक गणतन्त्रतर्फलैजाने निर्णायपछि पहिलो पटक एमाले केन्द्रीय कमिटी बैठक बसेको हो । निरंकुशताविरुद्धको आन्दोलनले उचाइ प्राप्त गरेको निष्कर्षमा बैठक पुगेको छ । ँयसलाइ अझ प्रभावकारी बनाउँदै निरंकुश राजतन्त्रविरुद्ध अगाडि बढ्नुवाहेक अर्को विकल्प छैन’- नेता नेम्वाङले भन्नुभयो ।
सातदलबीच आन्दोलन प्रभावकारी बनाउने विषयमा छलफल सुरु भैसकेको र छिट्टै नै कायक्रम सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।
बृहत संयुक्त प्रजातान्त्रिक मोर्चाभित्र सातदल ,शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने राजनीतिक शक्तिहरु, नागरिक समाज र विभिन्न पेशा व्यवसायका व्यक्तिहरु समावेश हुनेपनि उहाँले स्पाष्ट पार्नुभयो ।
