पक्राउ पर्नेको लिस्ट तयार: नेताहरूको गिरफ्तारी सुरु हुने
ठूला नेताहरूलाई गिरफ्तार गर्ने जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ
सात दलको चारदिने आम हड्ताल असफल पार्न सरकारले एक साताअघि नै धरपकड र गिरफ्तारीको रणनीति अख्तियार गरेको छ ।
उच्च सुरक्षास्रोतका अनुसार शुक्रबार १८ गतेदेखि नै सात दलका केन्द्रीय स्तरका नेता र भ्रातृ संगठनका मुख्य-मुख्य व्यक्तिहरूलाई पक्राउ गर्न सरकारले सुरक्षा निकायलाई निर्देशन दिएको छ । पक्राउ गरिनेको सूचीमा झन्डै चार सयजनाको नाम रहेको बुझिएको छ । नेताहरूलाई कसरी पक्राउ गर्ने भन्ने विषयमा बुधबार प्रहरी प्रधान कार्यालयमा उपत्यकामा कार्यरत प्रहरी अधिकृतहरूलाई बोलाएर ‘ब्रिफिङ’ गरिएको थियो ।
प्राप्त जानकारीअनुसार ठूला-ठूला नेताहरूलाई गिरफ्तार गर्ने जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ भने विद्यार्थीहरूलाई गिरफ्तार गर्ने जिम्मेवारी प्रहरीलाई जिम्मा लगाइएको छ ।
आन्दोलनमा माओवादीको सम्भावित संलग्नतालाई आधार बनाएर सरकारले दमन गर्ने संकेतसँगै गृहमन्त्री कमल थापाले आम हड्तालको कार्यक्रम माओवादीको समेत भएकाले दलका नेताहरूलाई माओवादीसरह व्यवहार गर्ने चेतावनी दिइसकेका छन् । तर, दलहरूले भने सरकारको जस्तोसुकै दमनलाई पनि प्रतिरोध गर्दै आम हड्ताल सफल पारिछाड्ने उद्घोष गरेका छन् ।
सात दलले चैत २६ गतेको राजधानीकेन्द्रित जनसभामा तीन लाख जनता उतार्ने दाबी गरेका छन् । त्यसका लागि एक साताअघिदेखि नै प्रचार अभियानलाई उनीहरूले तीव्र बनाएका छन् । राजधानीबाहिरका जनतालाई एक साताअघि नै काठमाडौंमा उतार्ने व्यवस्था मिलाइसकेको बुझिएको छ । दलका कार्यकर्ता राजधानी भित्रिइसकेको सूचनाका आधारमा सरकारले गेस्टहाउस र धर्मशालाहरूमा समेत विशेष निगरानी र छापामार्ने काम गरिरहेको छ । बिहान २ बजेपछि गेस्टहाउस र लजहरूमा प्रहरीले छापा मारिरहेको छ । गृह मन्त्रालयले र्सार्वजनिक सूचनामार्फ् नै उपत्यकाबाहिरका जनतालाई राजधानी नआउन अनुरोध गरेको छ ।
शाही नेपाली सेनाले पनि आन्दोलनमा परिचालन हुन सक्ने संकेत दिएको छ । सैनिक प्रवक्ता नेपालभूषण चन्दले यसै साता सञ्चारकर्मीहरूसँग स्थिति अनियन्त्रित भए सेना परिचालन हुने बताउनुभएका थिए ।
सरकारी उच्चस्रोतका अनुसार दलका नेताहरूलाई पक्राउ गरेपछि दंगा भड्किन सक्ने कुरालाई ध्यानमा राख्दै सरकारले शुक्रबारबाटै टेलिफोनका लाइन काट्ने र आवश्यक परे कर्फ्यूसमेत घोषणा गर्ने तयारी गरिरहेको बुझिएको छ ।
सरकारको गिरफ्तार गर्ने योजना थाहा भएपछि केही नेताहरू भूमिगत हुन थालेका छन् । नेताहरू गिरफ्तार भएपछि आन्दोलन निस्तेज हुने विश्लेषणका साथ गिरफ्तारीबाट बच्न उनीहरू भूमिगत हुन थालेका हुन् ।
भ्रातृ संगठनका नेताहरूलाई समेत गिरफ्तारीबाट बच्न सजग गराइएको बुझिएको छ । २४ गतेअघि भूमिगत हुने नेताहरू एकैचोटि २६ गतेको जनप्रदर्शनमा सहभागी हुने योजनामा छन् ।
